जलवायु संकटबारे नेपालले विश्वव्यापी बहसको नेतृत्व गर्दै

काठमाडौँ — सरकारका मुख्यसचिव एकनारायण अर्यालले सरकारको उच्च प्राथमिकतामा रहेको ‘सगरमाथा संवाद-२०२५’ समयमै सम्पन्न गर्ने बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संवादको तयारीबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा मुख्यसचिव अर्यालले सरकार सफल बनाउन लागि परेको बताए ।

हामीले जलवायु परिवर्तनको मुद्दामा पर्वतीय मुलुकको तर्फबाट अन्तर्राष्ट्रियस्तरमा नेतृत्व गर्न खोजेका हौं,’ उनले भने, ‘र सगरमाथा संवाद अन्तर्राष्ट्रियस्तरमा नेपालको मुद्दाहरूमा बार्गेनिङ गर्ने फोरमको रूपमा स्थापना गर्न खोजेका हौं ।’ त्यतिमात्र नभई पहिलो संस्करणमा जलवायु परिवर्तनको मुद्दा बोकेर छलफल गर्न खोजिएको सगरमाथा संवादलाई सरकारले आफ्नो नीति तथा कार्यक्रममा समेत समेट्ने गरी अगाडि बढिरहेको जानकारी दिए ।

२, ३ र ४ जेठ २०८१ मा काठमाडौंमा आयोजना हुने सगरमाथा संवादमा सरकारले चैत ३ गतेसम्म विभिन्न देशका राष्ट्र प्रमुख, सरकार प्रमुख, ख्यातिप्राप्त व्यक्तित्व, अधिकारकर्मी, सञ्चारकर्मी गरी ४५० लाई निमन्त्रणा गरिसकेको छ । तर सुरक्षा प्रोटोकलका कारण तत्काल सहभागीको विवरण सार्वजनिक नगरिएको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिए ।

‘हामीले कति जना अतिथिहरूलाई स्वागत गर्न सक्छौं भन्ने आधारमा हामीले विदेशस्थित नेपाली राजदूतावासलाई परिचालन गरेर, काठमाडौंस्थित विदेशी राजदूतावास परिचालन गरेर निमन्त्रणा पठाइरहेका छौं,’ उनले भने, ‘यो सगरमाथा संवाद सफलतापूर्वक सञ्चालन गर्ने र यसलाई टुंगोमा पुर्‍याउने काममा सबैको साथ चाहिन्छ ।’