सगरमाथा संवादमा जलवायु परिवर्तनको मुद्दा उठाइने, साढे ३ सयलाई निम्तो
काठमाडौँ । ‘सगरमाथा संवाद’ मा विश्वका विभिन्न देशका ३ सय ५० जनाभन्दा बढीलाई निमन्त्रणा गरिने भएको छ । सगरमाथा संवाद हुन करिब दुई महिना बढीको समय बाँकी रहँदा आइतबार सगरमाथा संवादबारे जानकारी गराइएको हो । आगामी वर्ष २०८२ को जेठ २-४ गतेसम्म सगरमाथा संवाद कार्यक्रम हुँदैछ । परराष्ट्र मन्त्रालयका सचिव अमृत राईले सगरमाथा संवादमा विभिन्न देशका ३ सय ५० भन्दा बढीलाई निम्तो पठाइने जानकारी गराएका छन् । सरकारले निम्तो पठाइएकामध्ये डेढ सय भन्दा बढी व्यक्ति सहभागी हुने अपेक्षा गरिएको उनले बताए । निम्तो दिनका लागि विदेशस्थित नेपाली राजदूतावास र नेपालमा रहेका सम्बन्धित मुलुकका राजदूतावासलाई प्रयोग गरिएको उनले बताए । ‘साढे ३ सय जनाको हाम्रो आकलन छ, नेपाली र विदेशीहरू गरेर । १५० देखि १७५ जनासम्मले उपस्थिति जनाउने विश्वास छ,’ पत्रकार सम्मेलनमा राईले भने ।
