जलवायु संकटबारे नेपालले विश्वव्यापी बहसको नेतृत्व गर्दै

काठमाडौं – नेपालले जलवायु परिवर्तन, हिमालय संरक्षण, र दिगो विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘सगरमाथा संवाद २०२५’ आयोजना गर्ने तयारी गरिरहेको छ। जेठ २ देखि ४ गते काठमाडौंमा हुने यस उच्चस्तरीय संवादमा जलवायु न्याय, हरित अर्थतन्त्र, तथा जलवायु अनुकुलताबारे अन्तर्राष्ट्रिय छलफल हुनेछ।

सगरमाथा संवादको मुख्य लक्ष्य जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा उत्पन्न संकटलाई विश्वव्यापी ध्यानाकर्षण गराउनु हो। जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली मुलुकहरूमा हिमनदी पग्लिने समस्या, प्राकृतिक प्रकोपहरूको तीव्रता, र जैविक विविधतामा गम्भीर असर परिरहेको छ। नेपालले यस संवादमार्फत जलवायु परिवर्तनसँग जुझ्नका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको सन्देश दिनेछ।

सगरमाथा संवाद नेपाल सरकारले जलवायु परिवर्तन सम्बन्धी विश्वव्यापी बहसलाई अगाडि बढाउन ल्याएको अवधारणा हो। पाँच वर्षअघि नेपालले यो संवादको अवधारणा अघि सारेको थियो, तर कोभिड–१९ महामारीका कारण स्थगित गरिएको थियो। अब भने नेपालले यसलाई पुनः सक्रिय गर्दै जलवायु संकट समाधानका लागि बहुपक्षीय संवादको नेतृत्व गर्ने योजना बनाएको छ।