
हिमनदी पग्लिंदा नेपाल जस्तो सीमित स्रोतसाधन भएको देशमा झनै ठूलो असर पर्ने भएकाले जलवायु परिवर्तनका असरसँग जुध्न हाम्रो आवाज र पहल बढाउन आवश्यक छ।
जलवायु परिवर्तनका असरबीच हिमाली क्षेत्रको हिउँ बचाउने र यसका लागि सरोकारवालालाई झकझक्याउने उद्देश्यले आज शुक्रबार (२१ मार्च) ‘वर्ल्ड ग्लेसियर्स डे’ (विश्व हिमनदी दिवस) मनाइँदै छ। यस सन्दर्भमा जलवायु परिवर्तनका कारण विश्वव्यापी तापमान वृद्धिले हिमाल र हिमनदी केकसरी संकटमा पर्दै छन् भन्नेबारे यस लेखमा चर्चा गरौं। गत मंसीरको पहिलो साता गोरखाको पश्चिम भेगको यात्रामा गएको थिएँ।
विगत केही वर्षदेखि म देशका विभिन्न स्थानमा गएर हाम्रो कृषि प्रणाली र पानीको स्रोतसँग हिमाल र पर्यावरणको सम्बन्ध के छ, यसमा आदिवासी र रैथाने जीवन अभ्यासले कसरी काम गर्छ भनेर बुझ्ने गरेको छु। गोरखाको पहाडी भेगमा म वास बस्ने घर अगाडि नै लमतन्न थियो धौलागिरि हिमाल। तर राति पुगेकाले देख्न पाइएन।